Breaking News

फौज्दारी मुद्दामा थुनामा रहेका सांसद निलम्बन हुने विषयमा सत्तारुढ दल सहमत

काठमाडौँ,  २  जेठ । फौज्दारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने विषयमा दुई सत्तारुढ दल एकै ठाउँमा उभिएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) निलम्बनको पक्षमा रहेसँगै बुधबारको प्रतिनिधिसभामा नियमावली पारित गर्ने तयारी भएको छ । बुधबार नै छलफल गरेर नियमावली पारितको तयारी गरिएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बुधबार नियमावली पेस गरी पारित हुने बताए  । पोखरेलले दुई दलबीच निलम्बनको पक्षमा मत दिने सहमति भएको जानकारी दिए यो । उनले भने  ‘बुधबार  नियमावली सदनमा पेस हुन्छ । छलफल भई पारित पनि हुन्छ । निलम्बनको पक्षमा नै सत्तारुढ दल उभिने सहमति भइसकेको छ । ’
दुई दलको शीर्ष तहमा भएको सहमतिअनुसार एमालेले दर्ता गराएको संशोधनको पक्षमा मतदानका लागि माओवादी केन्द्र पनि तयार भएको हो । यसअघि पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन नहुने तर सेवा सुविधा र पदीय हैसियत नपाउने गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको थियो । यो खबर  गोरखापत्र दैनिकमा छ ।

shares