फेसबुका कारण यसरी स्वाहा ४७ लाख रुपैया

चितवन, १९ फाल्गुन । चितवन रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेको फेसबुकका कारण पछिल्लो ८ महिनाको अन्तरालमा ४७ लाख २८ हजार स्वाहा भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार उनलाई फेसबुकमा चिठ्ठा परेकाे भन्दै ठगीएकी हुन । उनलाई ठगी गर्ने गिरोहका दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

ठगी गर्ने मध्य कास्कीको ल्वांग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका पति २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । ठगी गर्ने अन्यको खोजीकार्य भइरहेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा १ लाख ७६ हजार जम्मा गरेकी थिईन् ।

न्यौपानेलाई फेसबुकको माध्यमबाट उनीहरुले ठगी गरेका हुन । साथी बनिसकेपछि नाटकीय ढंगले न्यौपानेलाई ठगी गरेको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
न्यौपानेका श्रीमान व्यवसायी हुन । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ ।

भारत बस्दै आएका एक व्यक्तिले पटक–पटक गरी उनलाई ‘फेसबुकको चिट्ठामा १० लाख मिलियन डलर पर्यो’ भन्दै ठगेको प्रहरी प्रमुख थापाले बताए । थापाका अनुसार न्यौपानेले ६ पटक गरी उनलाई पैसा पठाएकी थिइन् ।

आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ ।

ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्डसमेत पठाका थिए । उनले ५० लाख दिइ सकेपछिमात्र कार्डले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताइएकाे थियाे ।

कार्डमा चिप्स नभएको थाहा भएपछि उनले ठगिएको थाहा भएको प्रहरीले जनाएको छ ।