फोरम नेपालले भन्यो–केन्द्रीय नेताहरुलाई प्रहरीले हिरासतमा यातना दियो

काठमाण्डौ ३०, फागुन । संघीय समाजवादी फोरम नेपालले अाफ्ना केन्द्रीय नेताहरुलाई प्रहरीले हतकडी लगाएर हिरासतमा यातना दिएको बताएको छ ।
एमालेको मेची–महाकाली अभियानको बेला मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रहरीले फोरम नेपालका नेताहरुलाई आइतबार पक्राउ गरेको थियो ।
रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे हतकडीमै रहेका चार जना नेताहरुलाई जिप्रकाको प्रतिक्षालयमा निर्घात कुटपिट गरेको संघीय समाजवादी फोरम नेपालका रुपन्देही अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।
‘पहिले रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे आफैले प्रतिक्षालयमा निर्धात कुटपित गरेको रुपन्देही मोर्चाका संयोजक समेत रहेका यादवले बताए ।
फोरम नेपालका केन्द्रीय सदस्य बसीउद्दीन खाँ, जिल्ला सदस्य नजाबुद्दीन मुसलमान,  राजकुमार यादव र जमाल खाँलाई प्रहरीले पक्राउ गरी गैरकानूनी ढंगले हिरासतमा राखेको आराेप लगाएको छ ।
मोर्चाका ती चार जना नेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । आफ्ना नेताहरुलाई शीघ्र सकुसल रिहा नगरे आन्दोलनमा उत्रिने मोर्चाले चेतावनी दिएको छ  ।