प्लेअफ अन्तर्गतको पहिलो खेलमा विराटनगर किंग्स २९ रनले विजयी

काठमाण्डौ, ६ वैशाख । धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफकाे पहिलाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराएको छ ।

विराटनगरका लागि १ सय २८ रन बनाउने क्रममा कप्तान शरद भेषवाकरले २४ र आशिफ शेखले ३६ रनको पारी खेलेका थिए । रुपन्देहीको तर्फबाट कप्तान शक्ति गौचनले ३ र दिपेश श्रेष्ठले २ विकेट लिए । त्यस्तै बिक्रम सोब, कृष्ण कार्की र शहब आलमले समान १–१ विकेट लिए ।

यता १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्स पूरै ओभर खेल्दै ९९ रनमा अलआउट भयो । उसका लागि पुष्प थापा र बिक्रम सोबले क्रमशः २२ र २३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

रुपन्देहीको इनिङ ध्वस्त पार्ने क्रममा सुनिल कँडेल एक्लैले ४ विकेट लिएका थिए । उनले ४ ओभरको स्पेलमा १ मेडन राख्दै जम्मा १५ रन दिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, पवन सराफ र प्रकाश विष्टले समान १–१ विकेट लिए ।

प्लेअफ अन्तर्गत दोस्रो खेलमा काठमाण्डौ गोल्डेन्सले दिएको १ सय २४ रनको लक्ष्य धनगढी टिम चौरहाले पछ्याइरहेको छ ।