प्राधिकरणले भन्यो- ‘ऐतिहासिक सम्पदा क्षति नगरि पुनर्निर्माण गर’

काठमाण्डौ, ४ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनर्निर्माण, पुनर्स्थापना नहुँदा सम्म थप क्षति हुन नदिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको ५३ र्आैं कार्यकारी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

पुरातात्विक महत्वका सम्पदा र पुराना दरबारलाई तत्कालका लागि हावापानी, लगायत बाह्य तत्वहरुबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन अन्तर्गतकाे केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिने निर्णय भएको प्राधिकरणका सहसचिव जनार्दन गुरागाईंले जानकारी दिए ।

सरकारी कार्यालय रहेका पुराना पराम्परागत शैलीका दरबारको हकमा भने पुनर्निर्माण र पुनर्स्थापना  नभएसम्मका लागि संरक्षण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको गुरागाईंले बताए ।

यस्तै बैठकले पुनर्निनिर्माण र पुनर्स्थापना सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७३ लाई संशोधन गर्ने निर्णय गरेको छ ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त कार्यविधि संशोधन गर्नेबारे अध्ययन गर्न सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उपसमितिले विभिन्न जिल्लाबाट प्राप्त गुनासोलाई मध्यनजर गर्दै कार्यविधिमा गुनासो पछ्याैटकाे क्रममा सर्वेक्षण गर्नुपर्ने, स्थलगत निरीक्षण गर्नुपर्ने र गैरलाभग्राहीमा परेका वा पुनः फिल्ड निरीक्षण गर्नुपर्ने भनिएका व्यक्तिहरुको स्थानीय स्तरमा खटिएका प्राविधिकबाट पुनः स्थलगत निरीक्षण गर्ने व्यवस्था मिलाउने बुँदा थप गर्न सिफारिस गरेको थियो ।