August 17, 2017

प्राधिकरणले तयार गरेका भूकम्प प्रतिरोधी घर कस्ता छन हेर्नुस

काठमाण्डौ, ८ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ ओटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।

भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो ।

उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैंया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ ।

सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना) ले ५ ओटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।

नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पिडितले किफायती लागतमा धेरै विकल्प मध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्ने छन् । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो ।

यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागि आवश्यक जग्गा–घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले काठमाण्डौ उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ ।