प्रहरीले तयार पार्‍यो १ सय ६१ जना गुण्डाको लिष्ट

काठमाण्डौ, २६ फाल्गुन । काठमाण्डौ प्रहरीले १ सय ६१ जना पुराना तथा नयाँ गुण्डाको लिष्ट तयार पारेको छ ।

बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख (एसएसपी) छविलाल जोशी अपराध महाशाखाका प्रमुख (एसएसपी) दिनेश अमात्यले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर काठमाण्डौमा गुण्डागर्दीमा संलग्न १ सय ६१ जनाको लिष्ट बनाएरै निगरानी शुरु गरिएको जानकारी दिएका छन् ।

एसएसपी जोशिले ३० जनालाई पक्राउ गरेर नयाँ फोटो र फिंगर प्रिन्ट संकलन गरिसकेको र अन्यको पनि फिंगर प्रिन्ट संकलन गर्ने क्रम जारी रहेको बताए । पुराना गुण्डाको ठाउँमा नयाँ गुण्डाले स्थान बनाउने प्रयत्न गरेको परिवेशमा आफुहरुले गुण्डागर्दीबारे विशेष निगरानी शुरु गरेको जानकारी दिए ।

महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी)ले पुराना आउटडेटेड गुण्डाको ठाउँमा नयाँ गुण्डा जन्मेको बताए। नाम चलेका पुराना गुण्डा बाहेक काठमाडौंको गल्ली–गल्लीमा सक्रिय टोले गुण्डाहरुको समेत लिष्ट तयार पारेर गोप्य रुपमा निगरानी शुरु गरिएको एसएसपी जोशीले जानकारी दिए ।

गुण्डाहरुले कुनै अपराध गरेमा तुरुन्तै नियन्त्रणमा लिएर कारवाही गर्ने गरी अपराध महाशाखा र काठमाण्डौ परिसरको संयुक्त प्रहरी टोली बनाईएको जोशीले बताए ।
यस्तै प्रहरीले फागु पर्व मनाउने अवसरमा उश्रृंखल गतिविधी हुन नदिन विशेष सुरक्षा व्यवस्था मिलाईएको जनाएको छ ।

आगामी २८ र ३० गते हुने नेपाल र केन्याबीच हुने अन्तराष्ट्रिय क्रिकेट खेलको सुरक्षार्थ आठ सय सुरक्षाकर्मी पनि तैनाथ गरिने पत्रकार सम्मेलनमा जनाएको छ ।