August 23, 2017

प्रमुख निर्वाचन अायुक्त भन्छन- ‘बैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैन्’

काठमाडौं, ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् ।

उनले भने,‘बैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन्।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले बैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन् ।

उनले भने,‘बैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन्, आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन्।’
निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए।  यद्धपी उनले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए ।
यादवले भने,‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारेपनि कति दिन सार्ने हो ? समयावधि कति हो ? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’
निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थान्मा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादवले भने,‘११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुन्छ।’ निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनको भनाई थियो ।