October 23, 2017

प्रधानमन्त्री प्रचण्ड र चीनिया रक्षा मन्त्रीबीच भेटवार्ता

काठमाण्डौ, १० चैत्र । तीन दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले चीनले नेपालको विकास र रक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरेका थिए ।

रक्षामन्त्री चाङको नेपाल भ्रमणबाट चीन र नेपालको सम्बन्ध झनै सुमधुर हुने भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

‘चीनका रक्षामन्त्री चाङले पनि नेपाल चीनको असल मित्र भएकाले नेपाली नागरिक र नेपाली सेनासँगको सुमधुर सम्बन्ध रहेको भन्दै नेपालको प्रशंसा गर्नुभएको छ ।’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर ऋषि अधिकारीले जानकारी दिए ।

नेपालको रक्षा क्षेत्रको लागि चीनले दुई सय मिलियन युनान दिने सहमतिमा शुक्रबार हस्ताक्षर हुने पनि परराष्ट्र सल्लाहकार अधिकारीले जानकारी दिए ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चीनिया प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो ।