October 19, 2017

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विभाग सदस्य सङ ताओबीच भेटवार्ता

काठमाण्डौ, १३ चैत्र । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय एवम् अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओसँग भेटवार्ता गरेका छन् ।

भेटमा आपसी हित र सम्बन्धका साथै प्रधानमन्त्री दाहालले नेपालमा संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए ।

भेटमा ताओले नेपालले एक चीन नीतिमा देखाएको प्रतिबद्धताको प्रशंसा गरेका थिए । उनले अगामी दिनमा वान रोड वान बेल्टको सञ्जालको माध्यमबाट नेपालसँग थप सम्बन्ध सुढृढ गर्ने बताए । सङले प्रधानमन्त्री दाहालको सम्मानमा दिवा भोजको समेत आयोजना गरेका थिए ।

प्रधामन्त्री दाहाल सहितको टोलीे आईतबार बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रममा सहभागी हुँदैछ । सो कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले आजै साँझ चिनियाँ उपप्रधानमन्त्री वाङ याङसंग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड वाङले आयोजना गर्ने रात्री भोजमा पनि सहभागी हुने भएका छन् ।

चिनियाँ व्यवसायीँंग दुई मुलुकको व्यापारिक सम्भावना बारे समेत प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । उनले भोली राष्ट्रपति सि जिनपिङ सँग दुईपक्षीय सम्बन्धबारे महत्वपुर्ण भेटवार्ता गर्दै छन् ।