September 20, 2017

प्रधानमन्त्री देउवा पाँच दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौ ७ भदाै ।  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि अाज भारत प्रस्थान गरेका छन् ।

४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडानमार्फत बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पत्नी डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमण गएका हुन्।

भ्रमण दलमा परराष्ट्रमन्त्रीसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

आजै नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीको साझा संस्था एसोसिएटेड चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीज अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नेछिन् भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ।