October 24, 2017

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी फितलोः आचार्य

काठमाडौं, ६ चैत्र । चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको तयारी फितलो भएको टिप्पणी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लबमा बोल्दै आचार्यले भने,‘यो भ्रमणबाट व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डलाई त फाईदा होला, तर देशलाई के फाईदा हुन्छ ? यो कुरा प्रधान हो ।’

आचार्यले नेपालको तर्फबाट नेपाल–चीन द्विपक्षीय सम्बन्धमा जिम्मेवारीबोधको अभाव देखिएको समेत गुनासो पोखे ।

प्रधानमन्त्री दाहालको चीन भ्रमण आउन मात्रै अब तीन दिन बाँकी रहेकोले अहिलेसम्म भ्रमणका खास एजेण्डाहरु नै तय नहुनु दुःखद् भएको बताए ।

उनले कुटनीति राजनीतिजस्तो प्रचारबाजी नहुने समेत जिकिर गरे । आचार्यले थपे, ‘कुटनीतिमा गहिरो ज्ञान चाहिन्छ ।’

उनले कुटनीतिलाई सही ढंगले सञ्चालन गर्नको लागि राजदूत, परराष्ट्रमन्त्री तथा प्रधानमन्त्रीले त्यही अनुसार आफूलाई खरो उतार्नुपर्ने बताए ।

उनले चीन आर्थिक, सामाजिक तथा विज्ञान तथा प्रविधिको हिसाबले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा सशक्त र प्रमुख शक्ति भएकोले उसले विश्वमञ्चमा खोजेको भूमिकालाई पनि कसैले नजरअन्दाज गर्न नहुने बताए ।

चीनले आफूलाई विश्वमञ्चमा उभ्याएकोले नेपालले पनि त्यही अनुसारको तयारी गर्नुपर्नेमा जोड दिए ।

चीनले विश्वमै को–अपरेशनमा हात बढाएकोले नेपाललाई त अझै ठूलो प्राथमिकतामा राखेको उल्लेख गर्दै आचार्यले भने, ‘अब नेपालले टेक फर ग्रान्टेडमा अल्झिनु हुँदैन्, यस्तो भयो भने मुलुकको लागि नै दुर्भाग्य हुन्छ ।’