July 24, 2017

प्रधानमन्त्रीले स्थानीय तह कार्य सञ्चालन प्रारम्भ भएको घोषणा गरे

काठमाण्डौ, १ चैत्र । सरकारले ललितपुर महानगरपालिकाको काम कारबाही औपचारिक रुपमा उद्घाटन गर्दै देशभरिका ७ सय ४४ स्थानीय तहबाट कार्य सञ्चालन प्रारम्भ भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार ललितपुर महानगरपालिकामा आयोजना गरिएको विशेष कार्यक्रममा  नयाँ संविधान बमोजिम राज्य पुनर्संरचना आयोगले निर्धारण गरेका ७ सय ४४ स्थानीय तहले मङ्गलबारबाट कर्मचारी खटाएर सेवा आरम्भ भएको बताए ।

यो सँगै अब स्थानीय निकायका रुपमा रहेका यस अघिका जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिको काम खारेज भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको दिनलाई नेपालको ऐतिहासिक दिन रहेको बताए । सरकारले स्थानीय निर्वाचनको घोषणा गरेर आवश्यक तयारी अगाडि बढाइसकेकाले त्यसमा सबैलाई सहभागी हुन आग्रह पनि गरेका छन् ।

कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले केन्द्रको अधिकार अब गाउँ गाउँमा पुगेको भन्दै यसलाई सामान्य घटनाको रुपमा मात्र लिन नहुने उल्लेख गरे ।

देशभर रहेका ४ महानगरपालिका, १३ उपमहानरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिकाको काम सरू भएको कार्यक्रममा बताइएको थियो ।

स्थानीय तहको निर्वाचन मार्फत जनप्रतिनिधि बहाल नभएसम्मका लागि देशभरका स्थानीय तहमा सरकारले कर्मचारी खटाएर काम सुचारु गराएको बताए ।

सरकारले शुक्रबार राजपत्रमा सूचना निकाली स्थानीय निकायलाई स्थानीय तहमा रुपान्तरण गरेको थियो ।