October 24, 2017

प्रधानमन्त्रीले मोर्चालाई भने- ‘सीमांकन बाहेका विषयमा संविधान संशोधन गरेर अघि बढौ’

काठमाण्डौ, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकन बाहेकका विषयमा संविधान संशोधन गरेर अघि बढ्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमक्ष आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मोर्चाका शीर्ष तहका नेताहरुसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सीमांकन पछि मिलाउनेगरी संशोधन अघि बढाउन आग्रह गरेका हुन । छलफलमा सीमांकन बाहेकका बाँकी चार विषय संशोधन गरेर अघि जान स्थानीय तहको चुनावमा प्रधानमन्त्रीले जोड दिएको तमलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

मोर्चाको अडानमा कुनै परिवर्तन नभएको भन्दै उनले प्रधानमन्त्रीबाट नयाँ प्रस्ताव आएको विषय मोर्चामा जानकारी गराउने बताए । मोर्चाका अर्का नेता सद्भावना अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले स्थानीय तहलाई प्रदेश मातहत राख्ने, स्थानीय तहको चुनावपछि सीमांकनका विषयमा पनि संशोधनमा प्रवेश गर्ने, नागरिकताका विषयमा जस्ता प्रस्ताव पारित गर्ने लगायतका काम अहिले नै गरेर सीमांकन मात्र बाँकी राख्ने प्रस्ताव गरेको बताए ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संविधान संसोधन र निर्वाचनको सेरोफेरोमा छलफल भएको बताए ।

सीमांकन नटुंग्याइ अन्य विषयमा संशोधन गरेर अघि बढ्न नसक्ने बताउँदै आएको मोर्चाले छलफल गरेर मात्र निर्णय दिने बताएको छ ।