October 22, 2017

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुने परराष्ट्रमन्त्रीकाे विश्वास

काठमाण्डौ, ९ चैत्र । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण यसअघि भएका सम्झौता कार्यान्वयनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

बुधबार सिंहदरबारमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर भ्रमणमा नयाँ कुनै सम्झौता नहुने भए पनि यसअघि भएका व्यापार र पारवहन सम्झौता लगायत कार्यान्वयनका लागि भ्रमण फलदायी हुने बताए ।

द्विपक्षीय सम्बन्ध र सहायताका महत्वपूर्ण विषयमा गर्नुपर्ने तयारी पनि पूरा भइसकेको महतले जानकारी दिए ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले त्यहाँका राष्ट्रपति सि जिन पिङसँग भेट गर्नुका साथै उपप्रधानमन्त्रीसँग द्विपक्षीय छलफल समेत गर्नेछन् ।

त्यस्तै उनले बोआओ मञ्चको उद्घाटन समारोह तथा बेइजिङ फरेन स्टडिज युनिभर्सिटिमामा सम्बोधन समेत गर्ने मन्त्री महतले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको आगामी १० गते देखि १३ गतेसम्म हुने चीन भ्रणममा प्रधानमन्त्री पत्नी सिता दाहाल , परराष्ट्रमन्त्री महत , परराष्ट्र सचिव लगायतको उपस्थिति हुने परराष्ट्रले जनाएको छ ।