October 17, 2017

प्रधानमन्त्रीको कोसीस पुन: असफल

१७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाइ सहमतिमा ल्याउने सत्तारुढ दलको प्रयास असफल भएको छ ।

निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहान बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा मोर्चाको तर्फबाट स्पष्ट धारणा नआएको बताएका छन् ।

प्रधानमन्त्रीले संविधान संशोधन विधेयक र स्थानीय तहको चुनाव संगसंगै लैजाने प्रस्ताव राखेको तर मोर्चाले संशोधन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्ने कुरा राखेको नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पहिला संधोशन प्रस्ताव टुंग्याएर मात्र चुनावमा जानुपर्नेमा मोर्चा दृढ रहेको बताएका छन् । सहअध्यक्ष कर्णले मोर्चा र सत्तारुढ दलबीच फेरि छलफल गरी सबै विषय टुंग्याउने सहमति भएको बताएका छन्। बैठक भोलि बस्ने प्रधानमन्त्रीको नीजी सचिवालयले जानकारी दिएको छ ।