September 25, 2017

प्रदेशको अनुमति विना सीमांकन हेरफेर गर्न मिल्दैन : संविधानविद् आचार्य 

दाङ, २८ माघ । संविधानविद् निलाम्बर आर्चायले प्रदेशको अनुमति बिना सिमांकन हेरफेर गर्न नसकिने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा आचार्यले पाँच नम्बर प्रेदशको सीमांकन हेरफेर गर्ने सरकारी प्रयास गलत भएको बताएका हुन् ।

संविधानविद् आचार्यले भने ‘प्रदेशको निर्वाचन नगरी सीमांकन हेरफेर गर्ने अधिकार संविधानले प्रदान गरेको छैन ।’ निर्वाचन नगरी सीमांकन हेरफेर र संशोधन गर्ने बाटो संविधानमा नरहेकोे उनले स्पष्ट पारे ।

संविधान कार्यान्वयनमा लैजान निर्वाचन अपरिहार्य रहेको भएपनि दलहरुले बेइमानी गरिरहेको आरोप लगाए । उनले भने ‘निर्वाचनमार्फत ताजा जनादेश प्राप्त गरेपछि मात्रै संविधानको कार्यान्वयनमा सहजता आउने छ ।’

निर्वाचन नगराए लोकतन्त्र बलियो नहुने हुँदा निर्वाचनपछि प्राप्त हुने ताजा जनादेशले संविधानमा रहेका कमि कमजोरी संशोधन गर्न सकिने उनको धारणा थियो ।

आचार्यले संविधान अन्तर्गतका जन प्रतिनिधि निर्वाचित भएमा मात्रै सहीरुपमा संविधान कार्यान्वयन हुने दाबी गरेका थिए । आगामी २०७४ माघ ७ भित्रै तीनवटै निर्वाचन गर्नु आवश्यक रहेको बताएका उनले निर्वाचन गराउन नसक्ने हो भने दलहरु खारेज हुने बताए ।

आचार्यले तत्काल निर्वाचन आयोगलाई औपचारिक रुपमै निर्वाचन सम्बन्धी कानुनहरु प्रदान गर्न र निर्वाचनको मिति घोषणा गर्न उनले सरकारलाई आग्रह गरे । फाल्गुन १० गतेसम संसद स्थगित गरेकोमा आपत्ती व्यक्त गर्दै आचार्यले सरकार निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए ।