August 20, 2017

प्रदूषणले बालबच्चाको स्वास्थ्यमा प्रत्यक्ष असर

काठमाण्डौ, १८ चैत्र । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार पृथ्वीमा तापमान र कार्बनडाइअक्साइडको मात्रा बढ्नाले बालबच्चाको स्वास्थ्यमा नराम्रो असर परेको छ ।

यसको कारण बालबालिकामा श्वासप्रश्वासको समस्या देखिन थाल्छ । यातायातका साधन, उद्योगबाट निस्कने प्रदूषणले वायुप्रदूषण निम्त्याउने गर्छ र त्यसको प्रत्यक्ष असर बालबालिकामा पर्ने रिपोर्टमा बताइएको छ ।

संयुक्त राष्ट्रसंघको रिपोर्ट र विश्व स्वास्थ्य संगठनको रिपोर्ट ‘इनहेरिटिङ सस्टेनेबल वल्र्डः एटलस अन चिल्ड्रेन्स हेल्थ एण्ड इनभारमेन्ट’ मा पनि ५ सालभन्दा कम उमेरका १७ लाख बच्चा प्रत्येक वर्ष पर्यावरणसम्बन्धी समस्याले मर्ने गरेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन का वैज्ञानिक तथा डाक्टर एनीट प्रुस उस्टन कार्बनडाइअक्साइड र पराग कणबीच अन्तरसम्बन्ध भएको बताउँछन् ।

जुन भौगोलिक क्षेत्रमा कार्बनडाइअक्साइडको मात्रा धेरै द्रूतगतिमा बढिरहेको छ, त्यहाँको अवस्था चिन्ताजनक रहेको वैज्ञानिकहरु बताउँछन् । विशेषज्ञका अनुसार, दक्षिण पूर्व एसिया र दक्षिण एसियामा बिजुली उत्पादनका लागि कोइलाको प्रयोग गरिने र त्यसले वायु प्रदूषण निम्त्याउने गर्दछ ।

दक्षिण पूर्व एसियामा उत्पादन हुने बिजुलीको ४० प्रतिशत हिस्सा कोइलाको प्रयोगद्वारा हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार, कम आय हुने देशका ९८ प्रतिशत शहरमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनको मानकभन्दा बढि रहेको छ ।