Breaking News

प्रतिवेदन भन्छ- ५ खर्ब ८ करोड रूपैयाँ बेरुजु

काठमाण्डौ, २९ चैत्र । प्रचलित कानून उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ८ करोड रूपैयाँ पुगेको छ ।

महालेखापरीक्षक कार्यालयले बिहीबार ५५ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष बेरुजु २६ दशमलव २० प्रतिशतले बृद्धि भएको जनाएको हो । गत वर्षसम्मको बेरुजु रकम ३ खर्ब ९६ अर्ब रुपैयाँ थियो । लेखापरीक्षणबाट हेर्दा कुल बजेटको झन्डै आधा हिस्सा रकम बेरुजु देखिएको हो ।

सरकारी निकायतर्फ सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छ । कुल बेरुजुको २२ दशमलव ४३ प्रतिशत हिस्सा बोकेको भौतिक मन्त्रालयको २१ अर्ब २६ करोड रुपैयाँ बेरुजु छ । अर्थ मन्त्रालयकै बेरुजु १६ अर्ब १६ करोड छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ११ अर्ब ३६ करोड रुपैयाँ छ । प्रतिवेदनअनुसार १ खर्ब ६१ करोड रुपैयाँ राजस्व बक्यौता देखिएको छ । यो गत वर्षको तुलनामा २२ प्रतिशतले बढी हो ।

दूरसञ्चार र इन्टरनेट सेवाप्रदायकले सेवा दस्तुरमा १ अर्ब ५१ करोड, त्यसको भ्याटमा १९ करोड ७४ लाख गरी १ अर्ब ७१ करोड रुपैयाँ राजस्व तिर्न छुटेको प्रतिवेदनमा उल्लेख छ । आयल निगमको जग्गा खरिदका क्रममा भएको कर छलीको विषयलाई समेत महालेखाले प्रश्न उठाएको छ । कुल बजेटको करिब २८ प्रतिशत हिस्सा असार महिनामा मात्र खर्च भएको छ । असार २५ देखि एक साता अवधिमा मात्रै १ खर्ब १७ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको १४ प्रतिशत हिस्सा हो ।

नियमअनुसार गर्न पाउनेभन्दा २१ गुणा बढी हुने गरी २ खर्ब ९० अर्ब रुपैयाँ रकमान्तर भएको छ । महालेखापरीक्षक टंकमणि शर्माले बिमा संस्था, पर्यटन बोर्ड लगायतका संस्थाको समयमा नै लेखापरीक्षण हुन नसकेको बताए । बुढिगण्डकी , बायुसेवा निगम , निर्वाचन आयोग लगायतका संस्थामा अनियमित तवरले खर्च गरेको पाईएको भन्दै अध्ययनका लागी टोली खटाईएको शर्माले बताए ।

प्रतिवेदनमा २५ जना धितोपत्र व्यवसायीको कमिसनबापत १६ करोड ६२ लाख रुपैयाँ उठाउन बाँकी देखिएको छ । विभिन्न संस्थाले वस्तु तथा सेवा पैठारीका नाममा ५३ अर्ब ७ करोड रुपैयाँ छुट लगेको प्रतिवेदनमा उल्लेख छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७३-७४ को ५५ औँ वार्षिक प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यतालिका छ ।

shares