प्रचण्डले भने : ‘अब नेपालबाटै समाजवादकाे नयाँ मोडेल अाउँछ’

काठमाण्डौ २५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अव नेपालका कम्युनिष्ट पहिलाका जस्ता नभइ आक्रामक ढंगले अघि बढ्न सुरु गरेको बताएका छन ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी संयुक्तसँग पार्टी एकीकरण घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै नेतृत्वमा नेपालमा कम्युनिष्ट केन्द्र बनाउने समेत बताए ।

अध्यक्ष दाहालले समय अनुसार आफुले पार्टीलाई हिँडाएको दावी पनि गरे । उनले कम्युनिष्टहरुको यहि आक्रामक एकताले नेपालबाट समाजबादको नयाँ मोडल आउने दावी समेत गरे ।

दाहालले २१ औं शताब्दीकाे समाजवादको मोडल दिन नेपालका कम्युनिष्टहरु तयार भइसकेको भन्दै त्यसका लागि विभिन्न पार्टीहरुसँगको एकताले हालै भएको बाम शक्तिहरुबीचको गठबन्धनलाई उर्जा थप्ने धारणा राखे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका थिए ।

दुवै अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशिल, बामपन्थी र देशभक्त गणतान्त्रिक शक्तिहरुलाई बृहत ध्रबिकरणमा सामेल हुन अपिल गरिएको छ ।