पूर्वाञ्चल क्षेत्रीय स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

उद्धव घिमिरे/ विराटनगर, २१ चैत्र । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा बजारमा नवौं पूर्वाञ्चल आइटिएफ तेक्वान्दो प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका युवा नेता रमेशजंग रायमाझीले गरे । प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनकुटा र भोजपुर जिल्लाका करिब १ सय खेलाडीहरुको सहभागिता रहने पूर्वाञ्चल आइटिएफ तेक्वान्दो एशोसिएसनका संस्थापक अध्यक्ष एवं नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविनकुमार कार्कीले जानकारी दिए ।

प्रतियोगितामा २० केजी देखि ८० केजी तौलसम्मको प्रत्येक ५/५ केजी तौलको फरकका इभेन्टमा पुरुष र महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एसोसिएसनका अध्यक्ष चतुरलाल चौधरीले बताए ।

प्रतियोगिता सञ्चालन गर्न २ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम १ नम्बर वडा कार्यालय, जिविस, समाजसेवी एवं खेलप्रेमीहरुबाट संकलन हुने जानकारी दिंदै प्रतियोगिताका विजयी जिल्लाको टोलीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने एसोसिएसनका सचिव सन्तोष श्रेष्ठले जानकारी दिए ।