October 18, 2017

पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौः विश्व बैंक

काठमाण्डौ, ३० फाल्गुन ।  विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागी थप सहयोग विस्तार गर्ने घोषणा गरेको छ ।

नेपाल भ्रमणमा रहेका विश्व बैंकका कार्यकारी निर्देशक एण्डिन ह्याडियान्तोले सोमवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसँग भेटवार्ता गर्दै थप सहयोगको प्रतिबद्धता जनाएका छन ।

भेटमा कार्यकारी निर्देशक ह्याडियान्तोले असल विकास साझेदार संस्थाका रुपमा विश्व बैंक नेपालको विकासमा निकट सहयोगीका रुपमा काम गर्दै आएको भन्दै भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए ।

उनले पुनर्निर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै विश्व बैंकको सहयोगमा संचालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी संयन्त्रबीच थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर पोखरेलले पुनर्निर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको पनि महत्वपुर्ण भूमिका हुने बताए ।
पोखरेलले भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासँग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।

उनले पुनर्निर्माणको कुन क्षेत्रमा बढी सहयोग आवश्यक छ भन्ने जिज्ञासा राख्नुभयो, मैले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव र पुनर्निर्माणपछि जनताको जिविकोपार्जन र आर्थिक सम्बृद्धिका लागी सिप विकास र क्षमता विस्तार गर्ने कुरालाई जोड दिए ।

प्राधिकरणका सिइओ पोखरेलले सरकारी संयन्त्रमा हुने गरेका विभिन्न प्रक्रियागत कठिनाईले पुनर्निर्माणको काममा पनि ढिलाई भएकोप्रति समेत उनले चासो राखेको बताए ।