June 27, 2017

पुर्नसंरचना आयोगको प्रतिवेदनलाई अध्ययन गर्न गठित कार्यदलको म्याद तीन दिन थप

काठमाण्डौ, १७ फाल्गुन । स्थानीय पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको म्याद तीनका लागि थप गरिएको छ ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठन भएको सो कार्यदलको म्याद थप भएको यो दोस्रो पटक हो । माघ २० गते बसेको मन्त्रीपरिषद्को बैठकले १५ दिनको म्याद दिई सो कार्यदल गठन गरेको थियो । १५ दिनपछि कार्यदलले आफ्नो प्रतिवेदन बुझाए तर त्यसलाई थप अध्ययन गर्न भन्दै सात दिनको म्याद मन्त्रीपरिषद्ले थपेको थियो ।

सात दिनको म्याद मंगलबार सकिएको तर अध्ययन गर्ने काम पूरा नभएको कारण आज बसेको मन्त्रीपरिषद्को बैठकले सो कार्यदलको म्याद तीन दिनका लागि थपिएको छ ।

स्थानीय पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमाथि मधेशी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारले कार्यदल गठन गरेको थियो । मंगलबारको बैठकले बन सुरक्षाका लागि ७ सय नेपाली सेनालाई काजमा खटाउने निर्णय गरेको छ । बैठकले नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले दिने १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसरी नै बैठकले सरकार र निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ ।