September 23, 2017

पुनःनिर्माण चाडो गर : विकास समिति

काठमाण्डौ, ३ साउन । भूकम्पपछि पुनःनिर्माणमा लक्ष्यअनुरुप काम नभएको भन्दै संसदीय समितिले पुनःनिर्माण छिटो गर्न निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले भूकम्पपछि पुनःनिर्माणमा अहिलेसम्म भएको कार्यप्रगतिबारे सरोकारवाला निकायसँग जानकारी लिदै यस्तो निर्देशन दिएको हो ।

बैठकले पुरातात्विक महत्वका बस्तीहरु पुरानै शैलीमा बनाउन कार्यविधि तयार पार्न पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ । प्राधिकरणले क्षति पुगेका सम्पदाको संख्या ७ सय ५० रहेकोमा पूर्णक्षति भएका १ सय ३३ र आशिंक ६ सय १७ ओटा रहेको जानकारी गराएको छ ।

त्यस्तै प्राधिकरणले पुनःनिर्माण सम्पन्न भएका सम्पदाको संख्या २८ रहेको र १ सय ९१ ओटा सम्पदाको पुनःनिर्माण जारी रहेको जनाएको छ । बैठकमा सस्कृति पर्यटन सचिव शंकर प्रसाद अधिकारीले पुरात्वातिक महत्वका सम्पदा निर्माणका लागी युनेस्कोको मापदण्ड पुरा गर्नुपर्ने भएकाले केहि ढिलाई भएको बताए ।
बैठकमा पुननिर्माण अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले स्थानीय जनतालाई विश्वासमा लिन सके उनीहरुकै सक्रियतामा छिटो पुननिर्माण कार्य हुने धारणा राखेका थिए ।
त्यस्तै समितिका सदस्यहरुले गरिब र विपन्न वर्गलाई दिने क्षतिपूर्ति रकम बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले जोखिमयुक्त बस्तीलाई अन्यत्रै सारी पीडितका लागि व्यवस्थित बस्ती बसाल्नुपर्नेमा जोड दिएका थिए ।