October 23, 2017

पारस ब्याटिङमा चम्केपछि धनगढी प्ले अफमा रूपन्देहीको जितमा पुर्ण विराम

धनगढी, बैशाख ४ । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा टिम चौराह, धनगढी प्ले अफमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाउदै ९१ रन मात्रै बनाउन सक्यो । खराब सुरुवात् गरेको रुपन्देहीले १६ रन हुदा चार विकेट गुमाइसकेको थियो  ।
उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

रुपन्देहीलाई कम रनमा समेट्न धनगढीका लागि ललित राजबंशीले चार विकेट लिए भने सुशान भारी र सौरभ खनालले १/१ विकेट लिए । ९२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको धनगढीले ११ ओभरमा ४ विकेट गुमाउदै विजय लक्ष्य पुरा गर्यो । डिपिएलको कुनै पनि खेलमा नचलेका कप्तान पारस खड्का लिग चरणको अन्तिम खेलमा चम्किदै आफ्नो टीमलाई प्लेअफमा पुर्याउन सफल भए ।

२१ बलमा ४२ रन हानेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, धनगढीका आरिफ शेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह रौटेलाले १३/१३ रन जोडे । रुपन्देहीका लागि साहद आलमले दुई र कृष्ण कार्कीले १ विकेट लिए ।