October 19, 2017

पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण सवै जिल्लामा हुने

काठमाडौं, ९ चैत । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्ला अस्पतालमा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण सेवा सुरु गर्ने जनएको छ ।

नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको छ ।

नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु भएको शुभकामना सन्देशमा मन्त्री थापाले महिला संवन्धी रोगहरुको उपचार सेवा र चेतना अभिबृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गरेका छन् ।

नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा संचालन गरिने उनले बताए ।

त्यस्तै पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीवन जोगाउन त्यति नै गाह्रो छ भन्दै स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सवैलाई आग्रह गरेका छन् ।

स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गरेका छन् ।