पाकिस्तानको सूफी तीर्थस्थलमा २० जनाको हत्या

काठमाण्डौ, २० चैत्र । पाकिस्तानको पञ्जाब सूबे जिल्ला सरगोधामा मुस्लिमहरुको धार्मिक तीर्थस्थल (दरगाह) मा कम्तिमा २० जनाको हत्या भएको छ ।

घटनामा परी अन्य कयौं व्यक्ति घाइते भएका छन् । पुलिसका अनुसार दरगाहको हेरचाह गर्ने व्यक्तिले धारिलो हतियारले ती मानिसहरुको हत्या गरेका हुन् ।

रिपोर्टका अनुसार, यो घटना सरगोधाको मोहम्मद अली दरबारको तीर्थस्थलमा भएको थियो । घटनापछि घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

सरगोधाका पुलिसकर्मी मोहम्मद एहरानले भने, ‘ती व्यक्तिहरुलाई मार्ने काम शुक्रबार रातिबाट सुरु भएको थियो तर पुलिसलाई शनिबार रातिमात्र यसको सूचना मिल्यो ।’

घटनास्थलमा खटेका एक पुलिस अधिकारीले नाम नबताउने शर्तमा भने, ‘ सबै मृतक मोहम्मद अली दरबारप्रति आस्था राख्नेहरु थिए र मर्नेमा ३ महिला र बाँकि १७ जना पुरुष रहेका छन् ।’

घटनाको अनुसन्धानको क्रममा अब्दुल वहीदले पुलिसलाई भने, ‘ती अनुयायीहरुलाई पछिल्लो पटक भएको घटनामा उनीहरुको हात रहेको आशंकामा मारिएको हो ।’