परिवर्तनका पक्षधरहरु मिले मात्र मुलुकमा चमत्कार हुने–प्रचण्ड

काठमाण्डौ, १६ फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र मुलुकमा चमत्कार हुने बताएका छन् ।

२१४४ औं ल्याल्मो ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्याय, समानता र परिवर्तनका पक्षधर सबै शक्ति र समुदाय मिले मात्रै चमत्कार गर्न सकिने र सबै समुदायभित्रका परिवर्तनका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले सरकार संविधानको स्वीकार्यता बढाएर निर्वाचन गर्न केन्द्रित रहेको बताए । सरकार संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने संकल्पमा रहेको उनको भनाई छ ।

कार्यक्रममा एमाले नेता कृपाशुर शेर्पाले आफ्नो समुदायको अधिकारका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । कार्यक्रममा शेर्पा समुदायको अधिकार र पहिचानको पक्षमा क्रियाशील विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।