पराग्वेलाई ३–० ले पराजित गर्दै ब्राजिल शीर्षस्थानमा

काठमाण्डौ, १६ चैत्र । नेइमारको उत्कृष्ट गोल प्रदर्शनमा ब्राजिलले दक्षिण अमेरिकी विश्व कप छनोट अन्तर्गत पाराग्वेलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

पाराग्वेविरुद्धको जितसँगै छनोटको शीर्षस्थानमा रहेको ब्राजिलले अंक तालिकामा ३३ अंक जोडेको छ । घरेलु टोलीका लागि ३४ मिनेटमा फिलिप कोटिन्होले पहिलो गोल गरेका थिए ।

दोस्रो गोल ६४ मिनेटमा नेइमारले गरे । उनले डिबक्सभित्र पाराग्वेका गोलरक्षक बल खोस्न दौडिरहेको अवस्थामा बललाई हल्का माथि उठाएर गोलमा परिणत गरे । तेस्रो गोल मार्सेलोले ८५ मिनेटमा गरेपछि ब्राजिलले सहजै जित दर्ता गर्याे ।

गत वर्ष कोपा अमेरिकामा ब्राजिलको पराजय पछि डुंगालाई बर्खास्त गरेको घरेलु टोली त्यसयता पराजित भएको छैन । विश्व कप छनोटमा ब्राजिलको लगातार सातौं जित हो ।