October 19, 2017

परराष्ट्रमन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ, २० चैत्र । व्यावस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले मानव तस्कर तथा विचौलियाको प्रभावमा परेर दूतावासहरुको सुझाव विपरीत वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका कार्यान्वयन गर्न दूतावासहरुलाई दबाब दिएको निष्कर्षसहित परराष्ट्रमन्त्री र मन्त्रालयका अधिकारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो ।

समितिले खाडी मुलुकमा महिला कामदार जान प्रतिबन्ध लगाइएको मितिदेखि हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत प्रमुखहरुलाई निलम्वन गरी कारबाही अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले मानव तस्करी रोक्न आफू प्रतिबद्ध रहेको बताए । तर, एकल प्रयासमा तस्करी रोक्न सफल हुन नसकेको उनको प्रष्टोक्ति थियो ।