August 20, 2017

पत्रकार महासंघले ६२ औं स्थापना दिवस मनायो

काठमाण्डौ, १६ चैत्र । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले बुधबार विभिन्न कार्यक्रम गर्दे ६२ औं स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा महासंघले केन्द्रमा अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो भने जिल्ला शाखाहरुले प्रभात फेरी लगायतका कार्यक्रम गरेकाे थियाे ।

दिवसका अवसरमा महासंघका अध्यक्ष महेन्द्र विष्टले देशमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारको हकहितका लागि सशक्त रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको बेला अझ संवदेनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न संचारमाध्यम र पत्रकारहरुलाई आग्रह गरे ।

मुलुकमा नयाँ संविधान जारी भए पनि पत्रकारको सुरक्षाका लागि कुनै ठोस पहल नभएको भन्दै उनले उपयुक्त नीति ल्याउन सरकारको ध्यानाकर्षण समेत गरे ।

कार्यक्रममा महासंघका पुर्वअध्यक्षहरुले विभिन्न बहानामा सञ्चारमाध्यमलाई सरकारी क्षेत्रबाट हुने हस्पक्षेप नरोकिएको भन्दै आपत्ति जनाएका थिए । २०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो ।