पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला खुल्यो

 

काठमाण्डौँ ६ फाल्गुण । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ ।महासंघ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो ।
महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो ।
युनियनका अध्यक्ष बद्री सिग्देलले महासघंले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिए ।
ताला खोलेपछि महासंघका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासंघले बुझेको बताउँदै महासंघ सबैको साझा संस्था भएकोमा जोड दिए ।
महासंघले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि महासंघले बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो ।