June 28, 2017

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

२ फल्गुण, काठमाण्डौ । पत्रकार महासंघको सदस्यता वितरणकाे विषयमा असन्तुष्टि जनाउँदै अाएकाे नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

सोमबार युनियनमा आवद्ध पत्रकारहरुको टोलीले सञ्चारग्राम तिलगंगामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि पनि सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै युनियनका विभिन्न शाखाहरुले महासंघको जिल्ला शाखामा तालाबन्दी गर्दै आएको थियो । युनियनले सदस्यता वितरणको क्रममा महासंघल गैरनेपालीदेखि गैरपत्रकारसम्मलाई सदस्यता दिएको, महासंघको विधी र प्रक्रियालाई लत्याउँदै कुनै दल विशेषका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरेको लगायतका आरोप लगाएको छ । युनियनले महासंघको ४० जिल्लामा गरिएको नयाँ सदस्यता वितरण र नवीकरणमा समेत असहमति जनाएको छ ।

केन्द्रबाट नै महासंघको विधान विपरितका ३ हजार भन्दा बढी पत्रकारहरुलाई महासंघको सदस्यता दिईएको युनियनको आरोप छ । महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत लत्याएर महासंघले अन्य पेशामा आवद्ध रहेकाहरुलाई समेत सदस्यता दिएको आरोप युनियनले लगाएको छ ।