August 19, 2017

पत्रकार उपचार कोषका लागि गिरी र भट्टराईले दिए १ लाख २ हजार

बिर्तामोड,१ वैशाख । पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका हर्कलाल गिरी र कुमार भट्टराईले ५१/ ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई आज शुक्रबार बिर्तामोडमा गिरी र भट्टराईले ५१/५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । दुर्घटना तथा बिरामी परेको बेला पत्रकारको उपचारमा सहयोग पुर्याउन कोषमा रकम हस्तान्तरण गरेको बताउदै गिरी र भट्टराईले यो अभियानमा सहयोग पुर्याइदिन अरुलाई पनि आग्रह गरे ।

हर्कलाल गिरी तत्कालिन अनारमानी गाविसका निर्वाचित पूर्व अध्यक्षसमेत हुन् । विभिन्न सामाजिक संस्थामार्फत गिरी समाजसेवामा क्रियाशील छन् । कुमार भट्टराई ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो सनराइज बिर्तामोडका अध्यक्ष हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका छन् ।

पत्रकार सहारा उपचार कोषमा हाल १० लाख रुपैया जम्मा भएको कोषका संयोजक एकराज गिरीले जानकारी दिए । आगामी साउनबाट सञ्चालनमा आउने कोेषलाई ५० लाख हुदै क्रमश १ करोड बनाउने र कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने महासंघले जनाएको छ ।

कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार महासंघले न्यूनतम् ३ हजार रुपैयाँ शुल्क तिरेर कोषको सदस्य बन्न सबै पत्रकारलाई आह्वान गरेको छ । सहयोगी दातालाई पनि सहयोगको लागि आह्वान गरिएको छ ।