October 23, 2017

पत्रकारलाई ज्यान मार्ने धम्की

बिमल धामी / कञ्चनपुर, १३ चैत्र । कञ्चरपुरको दक्षिणी क्षेत्र पुनर्वासमा विगत ७ वर्षदेखि पत्रकारिता गर्दै आएका रञ्जित लामालाई ज्यान मार्ने धम्की आएको छ । समाचारको विषयलाई लिएर पत्रकार लामालाई शुक्रवार फोनबाट ज्यान मार्ने धम्की आएको हो ।

धम्की दिने पुनर्वास नगरपालिका–१२, आई.बी.आर.डी. की अन्दाजी ४० वर्षीय काली भनिने सुकमाया मोक्तान रहेकी छिन् । पत्रकार लामाले आफुलाई शुक्रबार ९८०९४६११६१ नम्बरको मोवाईलबाट मोक्तानले ज्यान मार्ने धम्की दिएको बताए ।
पत्रकार लामाले आफ्नो ज्यानको सुरक्षाका लागि पत्रकार महासंघ कञ्चनपुरलाई आईतबार ध्यानाकर्षण गराउँदै मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता समेत गरेका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका पत्रकार लामाले पत्रकार महासंघ कञ्चनपुर शाखामा ज्यान मार्ने विषयमा निवेदन दिएपछि महासंघ कञ्चनपुरले समेत घटना गम्भीर भएको जनाएको छ ।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले समाचारकै विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएकाे बताएका छन् । समाचारमा केही त्रुटी भए सम्बन्धित पत्रकार र सञ्चार माध्यम विरुद्ध सम्बन्धित निकायमा कारबाहीका लागि उजुरी दिन सकिने प्रावधान भए पनि पत्रकार लामालाई फोन मार्फत धम्की दिने कार्यको गलत भएको उनले बताए ।

उनले भने, ‘कानून हुँदा हुँदै कानुनको विरुद्धमा जाने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नैनसिंह कार्कीले पत्रकार लामालाई धम्की दिने विरुद्ध  छानवीन थालिने बताए ।