पकिस्तानी पूर्वकर्णेल नेपालमा बेपत्ता

काठमाण्डौ,२८ चैत्र । संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्णेल मोहमद हबिब जाहिर बेपत्ता भएका छन ।

नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ । नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुटेको हो ।

उनी एजे ५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई ३४४ कलसाइनको उडानबाट नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ । ओमान हुँदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेको आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी दिएको बताइएको छ । उनि त्यसपछि सम्पर्कमा नआएको दूतावासको पत्रमा उल्लेख छ ।

आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुँदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतङ्कवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरीको विशेष व्यूरो खोजीमा खटिएको छ यो खबर आजको नागरिक दैनिकमा छ ।