September 21, 2017

सरकार शैक्षिक क्षेत्रको विकासमा उदासिन : प्याब्सन अध्यक्ष

भक्तपुर, ३० जेठ । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) का केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उदासिन भएकाे अारोप लगाएका छन ।

रफत सञ्चार क्लबमा आज आयोजित शैक्षिक सवाल बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परिक्षा र अनुगमन बाहेकका बिषयमा सरकारले नीजि क्षेत्रलाई अधिकार दिनुपर्ने बताए ।

सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले शिक्षाको सुधार विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राखे ।

सरकारले शिक्षा ऐन संशोधनका बारेमा सरकारले शिक्षाविद् र सम्बन्धीत सरोकारवालासँग छलफल नगरी आफनो मनोमानी रुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफुहरुलाई स्वीकार्य नभएको सम्बाहाम्फेले बताए ।

नीजि विद्यालयको शुल्क निर्धारणका बिषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवा सुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुन नसक्ने सम्बाहाम्फेको भनाई थियो ।