June 27, 2017

नेविसंघ स्ववियु चुनाव बिथोल्न खोज्दैछ – नवीना लामा

काठमाण्डौ, १७ फाल्गुन । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता लागि परेको आरोप लगाएकी छन् ।

रफत सञ्चार क्लवमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लामाले नेविसंघ निर्वाचन भाड्ने षड्यन्त्रमा लाग्दा निर्वाचन प्रभावित हुने खतरा आएको बताइन । नेविसंघको अराजनैतिक र अलोकतान्त्रिक चरित्रका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रभावित हुने खतरा बढिरहेको उनले बताइन् ।

अध्यक्ष लामाले नेविसंघको गुण्डागर्दी र अलोकतान्त्रिक शैलीका कारण निर्वाचनमा समस्या आएको बताइन् । उनले १८ गतेको निर्वाचन कसैले चाहेर पनि नरोकिने बताइन् ।

नेविसंघले पराजय स्वीकार्न नसक्दा क्याम्पस तालाबन्दीमा उत्रिएको बताउँदै आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन सफल बनाउन सबै विद्यार्थी संगठनलाई आग्रह समेत गरेकी छन् । उनले देशभर आफूहरुको विजयको सुरुवात भएपछि नेविसंघ तालाबन्दीमा उत्रिएको बताइन् ।

सानोठिमी क्याम्पसमा सोमबार राती क्याम्पस प्रमुखको कार्यकक्षमा भएको आगजनी अखिल र विप्लवले लगाएको भन्ने झुटो आरोप भएको बताइन् ।