August 19, 2017

नेप्से निरन्तर ओरालो

१ फल्गुण, काठमाण्डौ । सेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागेको छ ।

आइतबार नेप्से परिसूचक ४३ दशमलब सात तीन अंकले घटेर १२ सय ५२ दशमलब पाँच शुन्य विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा समेत गिरावट आएको छ । आइतबार सेयरबजारमा १ सय ३२ कंपनीका सेयर कारोबार भएका छन् ।

कुल १३ लाख ९ हजार ८ सय ८५ कित्ता सेयर ६ हजार १ सय ५८ कारोबारबाट ४९ करोड ४१ लाख १ हजार रुपैयाँमा किनबेच भएका छन् । सेयरबजारमा सूचीकृत समूहगत परिसूचक मध्ये होटेल समूहको परिसूचक सकारात्मक रहेको छ ।

वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, वित्त, बीमा तथा अन्य समूहका परिसूचक भने नकारात्मक रहेका छन् । सबैभन्दा धेरै बीमा समूहको परिसूचक ३ सय ४६ अंकले झरेको छ । जलविद्युत समूहको परिसूचक ६२ अंकले घटेको छ भने वाणिज्य बैंक समूहको परिसूचक ४५ अंकले घटेको छ ।

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र सोल्टी होटेलका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने प्राइम लाइफ इन्सुरेन्स, प्रभु इन्सुरेन्स तथा एन वी इन्सुरेन्सका सेयरधनी रहेका छन् ।