August 24, 2017

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडी जापान जाँदै

काठमाण्डौ, २ वैशाख । जापानको ओसाकामा हुने १५ औं ‘जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप’ मा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले सहभागिता जनाउने भएका छन् । जसमा ४ पुरुष र १ महिला खेलाडी छन् ।

पुरुषको २५ केजीमा आयुश बोहरा, २७ केजीमा प्रजुन कुइँकेल, २९ केजीमा विवेक श्रेष्ठ र ७४ केजीमा तिलक लामा रहेका छन् । महिलाको २५ केजीमा प्रगति कुइकेलले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

सबै खेलाडीले पुम्से विधामा पनि भाग लिने छन् । विवेकले गत वर्ष अगष्टमा थाइल्यान्डको बैंककमा भएको दोश्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का छन् ।  व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । उनी हङकङबाटै जापान जानेछन् ।

टोलीका लागि ट्रयाकसुट गुरुङकै एकेडेमीले प्रायोजन गरिदिएको हो । अप्रिल २३ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १६ राष्ट्रका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष खड्काले जानकारी गराए ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य एकिन्द्र कुवँरले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली अप्रिल २१ तारिख जापान जाने कार्यक्रम छ ।