October 19, 2017

नेपाल र जिम्बाबे सरकारबीच औद्योगिक क्षेत्रको विकासमा सहयोग आदानप्रदानमा जोड

काठमाण्डौ, १३ चैत्र । जिम्बाबे सरकारले नेपालको लघु, साना तथा मझौला उद्योगको विकासमा पारस्परिक सहयोग गर्ने अभिरुची देखाएको छ ।

जिम्बाबेका लघु, साना तथा मझौला उद्योग विकास सम्बन्धी मन्त्री यस जि.जि. नियोनीको नेतृत्वमा नेपालको ५ दिने भ्रमणमा रहेको प्रतिनिधि मण्डल र उद्योग मन्त्रालयका प्रतिनिधि मण्डलबीच आईतबार सिंहदरबारमा भएको छलफलमा जिम्बाबेका तर्फबाट यस्तो अभिरुची व्यक्त गरिएको हो ।

छलफलका अवसरमा जिम्बाबेका यस जि.जि. नियोनीले लघु उद्यमका क्षेत्रमा नेपालले अवलम्बन गरेको रणनीति र नेपालको पदयात्रा क्षेत्रमा नेपालले गरेको प्रगतिका बारेमा नेपाल र जिम्बाबेबीच सहयोगको आदान प्रदान गर्न चाहेको बताए ।

उद्योग मन्त्री जोशीले खनिज उत्खननका सम्वन्धमा जिम्बाबेको अनुभव नेपालका लागि पनि अनुकरणीय रहने भन्दै लघु, साना तथा मझौला उद्योगको विकासमा सहयोग आदान प्रदान गर्न सकिने बताए ।

नेपालले लघु साना तथा मझौला उद्योगको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले यसले ग्रामिण रोजगारी वृद्धि गर्ने भएकाले गरीबी निवारणमा समेत सघाउ पुर्‍याउने बताए ।

सो क्रममा दुई मुलुकबीच पारस्परिक सहयोग आदन प्रदानका लागि जिम्बाबे र नेपाल सरकारबीच सहमति पत्रमा हस्ताक्षर गरेर सहयोगको प्रकृया अगाडी बढाउन चाहेको जिम्बाबेका मन्त्रीले प्रतिबद्धता व्यक्त समेत गरे ।