नेपाल—भारतबीचको सम्बन्धमा समस्याकाे कारण विश्वासकाे संकट — नेता पौडेल

काठमाडौ ५ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालभारत सम्बन्धमा आउने गरेको विश्वासको संकट सबैभन्दा ठूलो समस्या रहेको बताएका छन ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौं पुण्यतिथीमा आयोजित नेपालइण्डिया कनेक्टिभीटीः अपर्चुनिटीज फर होलिष्टिक डेभलपमेन्ट विषयक अन्र्तक्रियामा बोल्दै आपसी विश्वास बलियो बनाउन सके दुवै देशले एकअर्काबाट लाभ लिनसक्ने बताए ।

नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा ठूलो समस्या विश्वासको संकट हो, पौडेलले भने,‘विश्वासको वातावरण बढेमा दुवै देशको हितमा काम हुन्छ । उनले दुवै देशको सम्बन्धलाई स्वाभाविक र प्राकृतिक भन्दै पारस्परिक सम्बन्ध बलियो बनाउन सके विकासले गति लिने बताए ।

पौडेलले नेपाल र भारतबीचको सम्बन्ध सबैभन्दा सुमधुर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुँदाको समयमा भएको उल्लेख गर्दै कोइरालाले दुई देशको सम्बन्ध प्रगाढ बनाएर देशको हितरक्षा गर्न सकेको चर्चा गरे ।

अन्र्तक्रियामा जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक तथा नेपालभारत सम्बन्धकी जानकार संगिता थपलियालले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुन सके विकासका कार्यक्रमहरूले अझ गति लिने बताइन । नेपालका लागि कार्यवाहक भारतीय राजदूत विनय कुमारले नेपाल र भारतबीच बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताउदै बाटो, यातायात, जलविद्युतलगायतका क्षेत्रमा कनेक्टिभीटि बढनु सुखद भएको उल्लेख गरे ।