October 18, 2017

श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईंदै

 

काठमाण्डौ,२३ चैत्र

श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । यसैबीच जनकपुरको रामजानकी सहित देशभरका राम मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ । राम जानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रामनवमी पर्वको अवसरमा जनकपुरको गंगा सागर, धनुषसागर, अर्घजा पोखरीमा स्नान गरी राम जानकी मन्दिरमा पूजा पाठ गरे पारिवारिक सुख शान्तिका साथै हरेक प्रकारका दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।