June 27, 2017

नेपाल प्रहरी झापा नकआउट फुटबल प्रतियोगीताको फाइनलमा

भद्रपुर २ चैत्र । नेपाल प्रहरी रानी झापाको सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सैनिक फुटबल क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

भद्रपुर माविको मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलको पहिलो हाफ नेपाल प्रहरी रानीको पक्षमा रहे पनि दोस्रो हाफ सैनिकको पक्षमा रह्यो । खेल शुरु भएको १९ औं मिनेटमा विजय बिष्टले गोल गर्दै प्रहरीलाई अग्रता दिलाए ।

त्यस्तै, पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा अनुप लिम्बूले अर्को गोल थपेर प्रहरीलाई २–० को अवस्थामा पुर्याए । पहिलो हाफमा गोलको विषयमा केही तनाव उत्पन्न भएको थियो ।

त्यसक्रममा सैनिकका खेलाडी दिलेन लोक्तामले रातो कार्ड बाहिरिएपछि सैनिक १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित भए पनि दोस्रो हाफमा निकै सुधारिएको र आक्रामक खेल पस्कँदै सैनिकले २ गोल फर्कायो । दोस्रो हाफको खेल निकै रोमाञ्चक रह्यो । दोस्रो हाफ शुरु भएको पहिलो मिनेटमै सैनिकका अनुधवी खेलाडी प्रवेश कटुवालले गोल गर्दै अन्तर छोट्याएका थिए भने २० औं मिनेटमा विकेश लिम्बूले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । दोस्रो हाफमा सैनिकले केही अवसर पनि गुमायो ।

पेनाल्टीमा उत्कृष्ट बचाव गरेका प्रहरीका गोल किप्पर सन्दीप श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । सेमीफाइनल खेल बिहीबार युनाइटेड क्लव विर्तामोड र राजगढ एफसीबीच हुने प्रतियोगिताका व्यवस्थापक दिलीप भूइँमालीले जानकारी दिए ।