June 27, 2017

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

 

१२ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो भ्रष्टाचार अवधारण सुचाङ्कले नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक देखाएको छ ।

हालै सार्वजनिक गरीएको सूचांकमा नेपाल २९ अंक पाएर १ सय ३१ औं स्थानमा छ । यो अध्ययनमा १ सय ७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १ सय ६८ देशलाई समावेश गरिएको सुचाकमा नेपाल २७ अंकसहित १३०औं स्थानमा थियो । नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ । नेपाल भने बंगलादेश र अफगानिस्तान भन्दा मात्र अगाडि छ । बंगलादेश १४५ औं स्थानमा छ भने अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया भने विश्वकै भ्रष्ट मुलुक बनेको छ ।