नेपाल–चीन व्यापारघाटा कम गरिने – अर्थमन्त्री

काठमाण्डौ,१७ फाल्गुन । अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको व्यापारघाटा कम गर्न राज्यले प्रभावकारी कदम चाल्ने बताएका छन् ।

काठमाडौंमा भएको नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महराले चीनतर्फको निर्यात प्रवर्धनका लागि राज्यले कदम चाल्ने बताए । नेपालको चीनसँगको व्यापार प्रगतितर्फ उन्मुख भए पनि सन्तोषजनक नरहेको बताए ।

चीनले नेपालका झण्डै ८ हजार वस्तुलाई शून्य भन्सार दरको सहुलियत प्रदान गरे पनि निर्यात बढ्न नसक्दा वर्षेनि व्यापार घाटा चुलिँदो छ ।

गत आर्थिक वर्षमा मात्रै १ अर्ब ८४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा झण्डै ६७ अर्ब बढी अर्थात् ६८ अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।