August 19, 2017

नेपाल एयरलाइन्सले वाइड बडी विमान खरिद सम्झौता गर्दै

काठमाडौं, २५ चैत । नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिद गर्ने सम्बन्धि सम्झौता आज गर्ने भएको छ । नेपाल वायुसेवा निगमलाई आवश्यक दुईवटा वाइड बडी विमान बिक्री गर्न टेन्डर हात पारेको अमेरिकी कम्पनी एआर कर्पोरेशन र निगमबीच आज सम्झौता हुने निगमका अधिकारीहरुले जानएका छन् ।
सम्झौताको लागि एआरआर र पोर्चुगिच कम्पनी हाइफ्लाइका प्रतिनिधि बिहीबार नै काठमाडौं आएर छलफल सुरु भएपनि भाषा र कानूनी कुरामा रहेको अस्पष्टता नहटेकोले आज फेरि छलफल हुने निगमका कर्पोरेटका डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
सबैभन्दा सस्तोमा दुईथान वाइड बडी विमान बेच्ने प्रस्ताव गरेको कम्पनीसँग यसअघि माघ १४ मा सैद्धान्तिक सम्झौता सम्पन्न भएको थियो । बैना वापतको रकम दशलाख अमेरिकी डलर लिइसकेको एआरआरसँग अब खरिद सम्झौता हुने छ ।
यसअघि एआरआरले पठाएको प्रस्ताव निगमले अध्ययन गरी आफ्नो धारणासहित फिर्ता गरेको थियो। आज एआरआरसँग छलफल हुने र निगम संचालक बोर्डबाट पारित भएपछि सम्झौता सम्पन्न हुने श्रेष्ठले जानकारी दिए ।
गएको कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यसअनुसार निगमले दुईवटा विमान किन्न २२ अर्बबढी नेपाली रुपैयाँ खर्चनुपर्ने छ ।
निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटका ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म बिजनेस क्लास, २–४–२ फम्र्याटका ३० देखि ३६ इन्चसम्मको पिच भएका इकनोमिक क्लासका सिट सहित जम्मा २५० देखि २८० सम्म सिट हुनेछन्। ।
विमान आएपछि जापान कोरिया,अष्ट्रेलिया, सिंगापुर, ग्वान्जाउ उडान भर्ने निगमको तयारी छ । तर पहिलो वाइडवडीको पहिलो उडान भने कोरियाको इन्चोन एयरपोर्टमा गर्ने निगमले बताएको छ । हाल निगमले एउटा बोइङ र दुईवटा एयरबसबाट हप्तामा भारतका तीन शहरमा २०, हङकङ, बैंकक र क्वालालम्पुर ३ र ३ र दुबई,दोहामा ४ र ४ वटा उडान गरी कूल ३७ वटा उडान भर्दै आएको छ ।