August 19, 2017

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि मतदान

काठमाण्डौ, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि मंगलबार मतदान भएको छ ।

५७ विभिन्न पदमा प्रतिस्पर्धी रहेकाहरुबीच निर्वाचन भएको हो । महासंघको ६४ पदमा १ सय १२ जनाको उम्मेदवारी परेको थियो । सोमबार तोकिएको समयभित्र १४ जनाले मात्र उम्मेदवारी फिर्ता लिएपछि बाँकी पदमा निर्वाचन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघमा आगामी तीन वर्षपछि कसले नेतृत्व सम्हाल्छ भन्ने टुंगो पनि यही निर्वाचनले गर्दैछ । विधानको नयाँ प्रावधान अनुसार अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नेछन् । वरिष्ठ उपाध्यक्ष बन्ने प्रतिस्पर्धामा शेखर गोल्छा र किशोरकुमार प्रधान छन् ।

एशोसिएट सदस्य हुँदै महासंघको उपाध्यक्ष बनेका गोल्छा र जिल्ला तथा नगर सदस्यबाट उपाध्यक्ष बनेका प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी वस्तुगत उपाध्यक्षमा गोल्छा समूहबाट उमेशलाल श्रेष्ठ र प्रधान समूहबाट शंकरप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । स्वतन्त्र रुपमा अनुपबहादुर मल्लको पनि उम्मेदवारी परेको छ । एशोसिएट उपाध्यक्षमा भने चन्द्र ढकाल यसअघि नै निर्विरोध भइसकेका छन् ।

वस्तुगतको १४ सदस्यका लागि २७, एशोसिएटको १९ सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको छ ।