August 20, 2017

प्राधिकरणले दियाे सेनालाई डकर्मी तालिम

२१ माघ, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाली सेनाका दक्ष कालीगढलाई भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी प्रशिक्षक डकर्मी तालिम दिन शुरु गरेको छ ।

शुक्रबारदेखी सुरु भएको तालिम एक हप्ता सम्म चल्ने छ । तालिममा प्राधिकरणका तर्फबाट १४ जना प्राविधिक इन्जिनियरहरुले सेनाका दुई सय जनालाई तालिम दिइ रहेको छन भनि प्राधिकरणले जारि गरेको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

तालिम पश्चात सेनाका दक्ष जनशक्तिले फागुनको पहिलो सातादेखि भुकम्प प्रभावित जिल्ला रामेछाप, ओखलढुंगा र सिन्धुलीमा गएर स्थानीय बासिन्दालाई डकर्मी सम्बन्धी तालिम दिनुका साथै भुकम्प प्रतिरोधी घर निर्माणमा सहयोग गर्ने रहेको छ । भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणका लागि प्राविधिक जनशक्तिको अभाव भएपछि प्राधिकरणले सुरक्षाकर्मीहरुलाई तालिम दिएर जिल्ला पठाउने योजना अघि सारेको हो । रक्षामन्त्री बालकृष्ण खाँडसहितका उच्च अधिकारी र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलसहितको टोलीबीच भएको बैठकले सेनालाई तालिम दिएर पुननिर्माणमा खटाउने सहमति गरेको थियो । प्राधिकरणले शसस्त्र प्रहरीलाई पनि तालिम दिएर पुननिर्माणको काममा जिल्ला खटाउने गरि आवश्यक गृहकार्य गरिरहेको छ ।

त्यसै गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण तथा पुनर्स्थापनाको पाँच बर्षे योजनाको खाका तथा प्राधिकरणको निर्देशक समितिको निर्देशन बमोजिमको समयसीमाबध्द कार्ययोजना समेत समावेश गरी पुरै अवधिको विस्तृत कार्ययोजना तयारी शुरु गरेको छ। माघ २० र २१ गते प्राधिकरणमा भएको कार्यशालामा पुनर्निर्माण सम्बन्धित अधिकांश मन्त्रालयको सहभागिता थियो ।