August 19, 2017

नेपाली र चिनियाँ युवा व्यवसायीहरुबीच अनुभव साटासाट

काठमाण्डौ, २६ चैत्र । नेपाल चेम्बर अफ कमर्समा चीनबाट नेपाल आएका ५० सदस्यीय युवा प्रतिनिधिमण्डलसँंग नेपाल चीन युवा अनुभव आदानप्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

नेपाल चेम्बर अफ कमर्स, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा चिनियाँ युवा प्रतिनिधिमण्डल, नेपाली युवा व्यवसायी तथा राष्ट्रिय युवा परिषद्सँंग सम्बन्धित युवाहरुबीच अनुभव आदानप्रदान भएको हो ।

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रतिनिधिमण्डललाई स्वागत गर्दै देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै दुबै देशको आर्थिक विकासमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले नेपालमा कृषि, खनिज, ऊर्जा पर्यटन लगायतका क्षेत्रमा लगानीका सम्भावना धेरै भएकाले चिनियाँ युवाहरुले नेपालमा लगानी गरी प्रशस्त फाईदा लिनसक्ने बताए ।

चिनियाँं युवा प्रतिनिधिमण्डलका टिम लिडर वाङ फनले दुबै देशका युवा उद्यमी व्यवसायीबीच भेटघाट तथा छलफलले दुवै देशको उद्योग व्यवसायको प्रबर्द्धन हुने विचार व्यक्त गरे । नेपालले चिनियाँ आर्थिक नीतिमा समर्थन, सहयोग पुर्‍याउँंदै आएकोले नेपालमा चिनियाँ लगानी वृद्धि हुँंदै गएको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया, उपसचिव ध्रुब नेपाल लगायतले दुई देशको आर्थिक विकासमा युवाहरुको भूमिका बारे चर्चा गरे ।

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी एवं कार्य समिति सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।